खेलकुद

तेह्रथुमकाे ह्वाकुमा श्रीजङ राय स्मृति फुटबल सुरू

By admin

January 15, 2026

ह्वाकु (तेह्रथुम) । आठराई गाउँपालिका ३ ह्वाकुस्थित मौलाडाँडा खेलमैदानमा आजदेखि श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको छैटौ संस्करण सुरु भएको छ ।

 

उद्घाटन खेलमा आयोजक श्रीजङ राय पापो समाज (बी)ले विजयी सुरुवात गरेको छ । इवाको लाफा एफसीलाई सडनडेथमा ५-४ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती अग्रता लाफा एफसीका कप्तान मनिष मगरको गोलबाट भएको थियो ।

 

तर, गोलको खुसी साट्न नपाउँदै श्रीजङ राय पापो समाजका विप्लव इङनामले बराबरी गोल फर्काएका थिए । यसैगरी, आजै हुने भनिएको दोस्रो खेलमा बोझेनी मोरङ वाइसी अनुपस्थित भएपछि यावन कालिपा एफसीले वाकओभर पाएर क्वाटरफाइनल खेलमा प्रवेश पाएको छ ।

 

इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

 

आयोजक कमिटीका अध्यक्ष किशोरचन्द्र इङनामका अनुसार सर्वोकृष्ट खेलाडीले ५ हजार पाउँदा विधागत पुरस्कार ३-३ हजार रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ ।