अन्तराष्ट्रिय

पुरानाे मेची पुलबाट १० किलो चाँदीसहित झापाकी देवीकला पक्राउ

By admin

January 31, 2026

झापा । नेपाल-भारत सीमा क्षेत्र काँकडभिट्टा-पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई पक्राउ गरेको छ ।

 

भारतीय सशस्त्र सीमा सुरक्षा बलको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा विशेष अभियान सञ्चालन गर्दा चाँदी बरामद गरिएको हो ।

 

सुरक्षाकर्मीले शुक्रबार दिउँसो करिब १२ः४५ बजे पुरानो पुल क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेकी महिलालाई रोकी जाँच गर्दा उनको झोलाभित्र लुकाइछिपाइ राखिएको दानादार स्वरूपको चाँदी फेला परेको जनाइएको छ ।

 

पक्राउ पर्नेमा झापा निवासी ४२ वर्षीया देवीकला खड्का रहेको भारतीय सुरक्षास्रोतले जनाएको छ । उनको ठेगाना स्पष्टरुपमा खुलाइएको छैन । प्रारम्भिक सोधपुछका क्रममा उनले भारतको बागडोग्राबाट एक अपरिचित भारतीय नागरिकले नेपाल पुर्‍याउन भन्दै चाँदी दिएको र त्यसबापत चार हजार रुपैयाँ दिने प्रलोभन दिएको बयान दिएकी छन् । उनले यसअघि पनि यस्तै प्रकृतिको ओसारपसारमा संलग्न रहेको स्वीकार गरेको जनाइएको छ ।

 

प्रारम्भिक अनुसन्धानबाट बरामद चाँदी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागिएको खुलेको छ । पक्राउ परेकी महिला र बरामद चाँदीलाई थप कानुनी प्रक्रिया अघि बढाउन भारतीय राजस्व गुप्तचर निर्देशनालय, सिलिगुडीमा बुझाइएको सुरक्षास्रोतले जनाएको छ ।