खेलकुद

सिक्किमलाई हराउँदै झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा

By admin

February 09, 2026

बिर्तामोड । आयोजकको टिम झापा ११ फुटबल क्लबले सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबमाथि कठिन जित निकाल्दै सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

 

डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली सिक्किमलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अन्तिम चारमा प्रवेश गरेको हो ।

 

टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

 

सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा ११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपर जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।