गौरादह । झापाको अर्जुनधारा नगरपालिका १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा १४ वटा पालिकालाई पछि पार्दै अर्जुनधारा नगरपालिकाले उपाधि हात पारेको हो ।
उपाधि हात पारेसँगै अर्जुनधारा नगरपालिका झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको चौँथो पटक च्याम्पियन बनेको हो।
अर्जुनधारा नगरपालिका २२ स्वर्ण ५ रजत र १४ कास्य पदकसहित प्रथम हुँदा दमक १४ स्वर्ण १४ रजत र ५ कास्य पदकसहित दोस्रो र बिर्तामोड ७ स्वर्ण १० रजत ८ कास्य पदकसहित तेस्रो भएको झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए।
झापा जिल्लाभित्रका १५ वटा पालिकाका माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट छनौट भएर आएका १८ वर्षमुनिका खेलाडी विद्यार्थीहरूले १२० स्वर्ण, १२० रजत र २४० कांस्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, मार्सलआर्ट, सटपुटलगायत छ विधामा प्रतिस्पर्धा गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षता तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कार्यक्रममा गौरादह नगर प्रमुख सुवेदी, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, नगर खेलकुद विकास समिति गौरादहका अध्यक्ष तथा वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र निरौला, लगायतले पुरस्कार प्रदान गरेका थिए।
यसैबीच, १७औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारी गाउँपालिकामा हुने भएको छ । कार्यक्रमको सञ्चालन पूर्व राष्ट्रिय खेलाडी एवं गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपिन्द्र थापाले गरेका थिए ।