काठमाण्डौ । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको पछिल्लो तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।
उनीहरुले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमकाबीच खाडीका देशमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन् ।
ती देशमा कार्यरत लाखौँ नेपालीको जीवन, रोजगारी र सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउँदै अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरिएको छ ।
अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेका छन् । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न देशको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ ।
यसैबीच नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न र सुरक्षित रहन अनुरोध गरेको छ । इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई अहिलेको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।