राजनीति

पालिकाको प्रमुखबाट राजीनामा दिने १० उम्मेदवारमध्ये २ जनामात्रै विजयी

By admin

March 10, 2026

झापा । पालिकाको अध्यक्ष वा मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका १० जनामध्ये दुई जनामात्रै विजयी भएका छन् । पराजित भएपछि न रह्याे पद, न बने सांसद ।

 

उम्मेदवार बनेकामध्ये काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राईमात्रै निर्वाचित भएका हुन् ।

 

राम्रो काम गरेको भन्दै चर्चा कमाएका भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ संसदीय चुनावमा पराजित भए ।

 

यस्तै, पदबाट राजिनामा दिएर उम्मेदवार बनेका मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, कैलालीको टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारु सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष अशिम राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र स्याङ्जाको कालिकण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा पनि पराजित भए ।

 

स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपचुनाव गर्न सकिने व्यवस्था छ ।

 

अहिले रिक्त भएका कार्यकारी पदहरुको पदावधि पनि एक वर्षभन्दा बढी छ । तर, चुनाव गराउने वा नगराउने भन्ने निर्णय गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।