झापा । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने कार्यमा संलग्नता नदेखिएपछि बिर्तामोड ५ का २५ वर्षीय कृष्ण अग्रवाल रिहा भएका छन् ।
आइतबार साँझ उनी रिहा भएका हुन् । ठगी गरेको भन्दै कनकाई ३ सुरुङ्गाका निर्मल श्रेष्ठलगायत २५–३० जनाले शनिबार अग्रवाललाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा प्रहरीले अनुसन्धान तथा छानबिन गरेको थियो ।
युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै विद्यार्थीबाट तीन करोडभन्दा बढी रकम उठाइएको थियो । अदालतमा बिचाराधीन मुद्दाका साक्षी बसेका अग्रवाललाई श्रेष्ठले समातेर प्रहरी कार्यालय लिएर गएका थिए । झापा जिल्ला अदालतमा दर्ता भएको ‘झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा अग्रवाल साक्षीका रूपमा रहेका थिए । उक्त मुद्दा बुद्धशान्ति २ का प्रज्ज्वल कार्कीले श्रेष्ठविरुद्ध दायर गरेका थिए ।
बिर्तामोड घर भई दुबईमा बस्दै आएका प्रकाश संग्रौला र सुरुङ्गाका श्रेष्ठले युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै विद्यार्थीबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ ।
पीडितका अनुसार संग्रौलाले विद्यार्थीहरूलाई आफ्ना साथीभाइका बैंक खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि नगद निकालेर श्रेष्ठमार्फत बुझ्ने व्यवस्था मिलाइएको थियो । दुबईमा रहेका संग्रौलासम्म रकम पुगेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ ।
यसअघि पीडितहरूले श्रेष्ठविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएका थिए । सोही आधारमा उनीविरुद्ध ठगी मुद्दा चलेको थियो । प्रहरी हिरासतमा रहेका श्रेष्ठपछि मिलापत्रका माध्यमबाट छुटेका थिए ।