झापा । जबरजस्ती करणी उद्योगका आरोपित झापाका उद्योगी व्यवसायी प्रदिप मित्तल पक्राउ परेका छन् । उनलाई आज बिहान इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो ।
गत चैत ३ गते दिउँसो १ः१५ बजे मेचीनगर १४ पाथिभरा टोलमा बिर्तामोड २ बस्ने ६२ वर्षीय प्रदिप मित्तलले सोही ठाउँ बस्ने २३ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको थियो । जबरजस्ती करणी उद्योग कसुरमा जाहेरी दर्ता भएपछि मित्तल फरार भएका थिए भने उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।
पीडकको खोजतलास जारी रहेकोमा उनी आज बिहान १०ः१५ बजे आफैँ इप्रका धुलाबारीमा उपस्थित भएकाले नियन्त्रणमा लिइएको हो । पक्राउ परेका मित्तलमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरिएको छ ।
निजलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूरमा म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।