बिर्तामोड । नारी संसार गृह झापा र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सरसम्बन्धी सचेतना तथा पाठेघरको मुखको निःशुल्क क्यान्सर परीक्षण गरिएको छ । उक्त कार्यक्रममा क्यान्सर रोगको समयमै पहिचान र उपचारको महत्वबारे जोड दिइएको थियो ।
महिला पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा ३० जनाको निःशुल्क स्क्रिनिङ गरिएको छ । यसै हप्ताभित्र अन्य पत्रकारहरुको समेत निःशुल्क स्क्रिनिङ गरिने जनाइएको छ । अस्पतालले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
कार्यक्रममा बिएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालकी डाइरेक्टर डा अन्जली कार्की प्रसाईले महिला पत्रकारहरुको स्वास्थ्य जाँचमा अस्पतालको तर्फबाट सहयोग गर्न पाएकोमा आभार प्रकट गरेकी छन् ।
उनले झापाली पत्रकारहरुसँग सदैव सहकार्य गर्न तयार रहेको बताइन् । समुदायमा निरन्तर योगदान गर्दै जाने बताउँदै उनले नारी सञ्चार गृहसँग मिलेर महत्वपूर्ण काम गर्न पाएको बताइन् ।
पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा समयमै ध्यान दिए क्यान्सर जस्तो रोग पनि निको हुने धारणा राखेकी थिइन् । यस्तै, जनसम्पर्क अधिकारी प्रमिश गिरीले नारी संसार गृहमार्फत उपचार सेवामा विशेष छुटका लागि तत्कालै सम्झौता गरेर अघि बढ्ने जानकारी दिए ।