खेलकुद

वैशाखमा चन्द्रगढी महिला गोल्डकप, विजेताले ११ लाख पाउने

By admin

April 03, 2026

भद्रपुर । चन्द्रगढी युवा क्लबको आयोजनामा ‘चन्द्रगढी महिला गोल्डकप २०८३’ आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरिने आयोजकले जनाएको छ।

 

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिइएको हो । महिला फुटबलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा नेपालका विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबका साथै ए डिभिजन क्लब र विदेशी टोलीहरूको सहभागिता रहने जनाइएको क्लबका अध्यक्ष रोहित सुब्बाले बताए ।

 

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने प्लेयर अफ द म्याचले नगद ११ हजार प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।

 

क्लबका अध्यक्ष सुब्बाले प्रतियोगितामार्फत झापालाई महिला फुटबलको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। उनले प्रतियोगिता सफल बनाउन स्थानीय तह, संघसंस्था र निजी क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरे।

 

प्रतियोगिताका लागि मेची रंगशालाको निर्माण तथा स्तरोन्नित धमाधम भइरहेको छ । पक्की प्यारापिटमा दर्शक क्षमता कम हुने आँकलन गरेर बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।