झापा । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ का युवा रहेका छन् ।
आइतबार दिउँसो १ः३० बजे भद्रपुर ४ स्थित डॉगीबारीमा लागूऔषध ओसारपोसार तथा बिक्री बितरण भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले सोही ठाउँ बस्ने बब्लु मर्डीको घर कम्पाउण्डमा बिक्रीका लागि लुकाएर राखेको अवस्थामा ब्राउनसुगर र खरिद गर्न आएका बिर्तामोड १ बस्ने २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई खानतलासी गर्ने क्रममा २१८ ग्राम ५० मिलिग्राम ब्राउनसुगर तथा नेपाली नोट ३ लाख २५० सहित अमेरिकन डलर ७५ डलर, पाकिस्तानी पचासको नोट, अस्ट्रेलिया पाँच डलर , भारतीय नोट ५३० र २ थान बिभिन्न कम्पनीका मोबाइल फेला परेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
चैत १ गतेदेखि लागूऔषध कसूर नियन्त्रणको लागि अभियानकै रुपमा जिल्ला प्रहरी कार्यालय झापाबाट मिशन ‘अपरेशन ब्राउन’ संचालन गरिएको डीएसपी खड्काले बताए ।