खेलकुद

संखुवासभालाई आठराई मदन मेला पुरुष फुटबलको उपाधि

By admin

April 26, 2026

संक्रान्ति बजार । संखुवासभाको नव सिर्जन प्रगतिशील युवा क्लब तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८३ पुरुषतर्फको फुटबलमा च्याम्पियन बनेको छ ।

 

त्रिमोहन माविको नयाँ खेलमैदानमा आज भएको फाइनल खेलमा साविक विजेता सोधुङ सेन्दाङ एफसीलाई टाइब्रेकरमा हराउँदै संखुवासभाले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

 

संखुवासभाका इन्द्र लिम्बूले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, सोधुङ सेन्दाङका लागि सविन तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन् । टाइब्रेकरमा भने संखुवासभाले ४-२ गोलअन्तरमा जित निकाल्दै च्याम्पियन बनेको हो ।

 

संखुवासभाका गोलरक्षक मनोज परियार प्लेयर अफ दी म्याचसँगै उत्कृष्ट गोलरक्षक भए । उनले ४ हजार ५ सय नगद र ट्रफी पाए । यसैगरी, उनको खेल मन पराएर धेरै दर्शकले नगद पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतियोगिताको बेस्ट प्लेयर संखुवासभाका सन्तोष लिम्बू भए । उनले नगद ५ हजार पाए । सोधुङ सेन्दाङका सुनियोजित लिम्बू बेस्ट डिफेन्स भए भने हाइस्कोरर दिपेश लिम्बू भए । उनीहरूले जनही नगद २ हजार ५ सय र ट्रफी पाए ।

 

च्याम्पियन बनेको संखुवासभाको टोलीले नगद ३ लाख ११ हजार १११ सहित ट्रफी पाएको छ भने उपविजेता बनेको सोधुङ सेन्दाङले नगद १ लाख ७५ हजारमा चित्त बुझायो । उनीहरूलाई आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम, ४ नम्बर वडा अध्यक्ष खगेन्द्र गुरूङ, मेला सञ्चालन समितिका अध्यक्ष टासी लामा, खेल संयोजक कालु लामालगायतले पुरस्कार प्रदान गरेका थिए । पुरूषतर्फको फुटबलमा २० टोली र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो ।