समाज

फिक्कल अस्पतालमा इको सेवा सञ्चालन, न्य जिल्ला जानु नपर्ने

By admin

May 13, 2026

इलाम । इलामको सूर्योदय नगरपालिका १० मा रहेको फिक्कल अस्पतालमा इको सेवा सञ्चालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा सञ्चालन गरिएको हो ।

 

वार्षिक ६० हजारभन्दा बढी नागरिकले सेवा लिँदै आएको अस्पतालले स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले इको सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा सरोज दर्नालले जानकारी दिए ।

 

अस्पतालमा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । कार्यवाहक नगर प्रमुख बरालले इको सेवा लिन झापा तथा अन्य जिल्लासम्म जानुपर्ने र महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गरे ।

 

यसैबीच, फिक्कल अस्पतालमा पूर्ण अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिन जडान गरिएको छ । छिटो र विश्वसनीय परीक्षण रिपोर्ट उपलब्ध गराउने उद्देश्यले उक्त मेसिन जडान गरिएको हो ।

 

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस मेसिनको रिपोर्ट शतप्रतिशत विश्वसनीय रहेको बताइएको छ । मेसिन सञ्चालनपछि रिपोर्ट छिटो उपलब्ध गराउन सहज भएको अस्पतालका प्रशासन प्रमुख फाजुङ भोटेले जानकारी दिएका छन् ।