शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा यसवर्ष दुई जनामा डेंगु संक्रमण फेला परेको छ । शनिश्चरे अस्पतालमा १८० जनाको रगत परीक्षण गर्दा दुई जनामा डेंगु देखिएको हो ।
नगरको स्वास्थ्य शाखाले आज आयोजना गरेको डेंगु रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखिकरण कार्यक्रममा दुई जनामा डेंगु संक्रमण फेला परेको जानकारी दिइएको हो ।
स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार गत साउन र फागुन महिनामा गरिएको रगत परीक्षणका क्रममा डेंगु संक्रमण फेला परेको थियो ।
गतवर्ष १२० जनाको परीक्षण गर्दा ३ जनामा डेंगु संक्रमण भएको थियो भने अर्जुनधारा ७ मा एक जनाको ज्यान नै गएको थियो । यो संख्या धेरै हुनसक्ने अनुमान स्वास्थ्य शाखाको रहेको छ । धेरै संक्रमितहरु निजी क्लिनिक जाने भएकाले तथ्यांक शाखामा आउन सक्दैन ।
स्वास्थ्य शाखाले डेंगु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । प्रमुख बस्नेतका अनुसार नगरको ३, ५, ६, ७, ८ र ११ नम्बर वडामा अभियान सञ्चालन हुनेछ । यी वडामा घना बस्ती र ग्यारेजहरु बढी रहेका छन् ।
नगरकी उपप्रमुख खड्गमाया पराजुलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, प्रहरीलगायतकाे सहभागिता रहेकाे थियाे ।