अर्थ बजार

चिया निर्यातमा भारतीय अवरोध कायमै, किसानसँगै व्यवसायी र उद्याेगी मारमा

By admin

May 16, 2026

बिर्तामोड । भारतले बैशाख १८ गतेदेखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार नेपाली चियाको प्रत्येक खेपको ल्याब परीक्षण अनिवार्य भएपछि निर्यात पूर्णरूपमा ठप्प भएको छ ।

 

भारतीय चिया बोर्डले भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गरिएपछि नेपाली चिया उद्योगी, व्यवसायी र किसानहरू ठुलो मारमा परेका छन् ।

 

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन । मन्त्रालय र दूतावासमार्फत भइरहेका कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बनेपछि चिया व्यवसायीले अवरोध खुलाउन प्रधानमन्त्रीस्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन् ।

 

यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएको थियो । तर, भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रकपिच्छे ११ हजार १२० भारतीय रुपैयाँ शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागु गरेको छ ।

 

भारतीय पक्षको यो कडा नीतिका कारण विगत आधा महिनादेखि निर्यात रोकिएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए । उनका अनुसार यो अवधिमा भारतीय क्रेताले आफ्नै जोखिममा अत्यन्तै न्यून परिमाणमा (तराईको करिब १०–१२ टन र पहाडको ४-५ टन) गरी जम्मा दुई गाडी चियामात्र लगेका छन् ।

 

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ करोड ५५ लाख ९८ हजार ६६० किलो चिया वाह्य मुलुक पठाएर नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको तथ्यांक छ ।