समाज

झापामा १० महिनामा ३ किलो ३७९ ग्राम ब्राउन सुगरसहित ४८२ जना पक्राउ

By admin

May 17, 2026

झापा । जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार लागुऔषध कारोबार र प्रयोगमा संलग्न ४८२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।

 

प्रहरीका अनुसार लागुऔषधसँग सम्बन्धित २९७ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले ३ किलो ३७९ ग्राम ब्राउनसुगर, ४ किलो २४९ ग्राम गाँजा, १ हजार ८७० एम्पुल विभिन्न लागुऔषध, १ लाख ३ हजार ३५१ पिस ट्याब्लेट र १ लाख ६ हजार १०८ पिस क्याप्सुल बरामद गरेको छ ।

 

विशेषगरी वैशाख महिनामामात्रै ५३ वटा मुद्दा दर्ता गरी ८६ जनालाई पक्राउ गरिएको र उनीहरूबाट ७९१ ग्राम ब्राउन सुगरसहित ठुलो मात्रामा प्रतिबन्धित औषधिहरू नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ।

 

प्रहरीले ‘अपरेसन ब्राउन’ अन्तर्गत वैशाख १० देखि १६ गतेसम्मको छोटो अवधिमै १५२ जनालाई पक्राउ गरेको थियो । लागुऔषध दुर्व्यसनमा फसेका केही प्रयोगकर्ताहरूलाई भने आवश्यक प्रशिक्षण र परामर्श दिई अभिभावकको जिम्मा लगाइएको छ ।

 

यसैबीच, प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानमा पनि ठुलो सफलता पाएको छ । चालु आर्थिक वर्षमा हालसम्म ५ सय ४९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

 

पक्राउ परेका व्यक्तिहरूबाट कुल १६२ वर्ष १ महिना १ दिन कैद र ५ करोड ५ लाख ४३ हजार ९ सय ३४ रुपैयाँ जरिवाना असुलउपर गर्ने फैसला कार्यान्वयन भएको छ ।