समाज

काँकरभिट्टाबाट ५७० ग्राम सुन र २० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

By admin

May 19, 2026

झापा । झापाको काँकरभिट्टाबाट करिव डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

 

सोमबार साँझ ५ः१० बजे मेचीनगर ६ काँकरभिट्टास्थित भन्सार ढाटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्डमा खटिएको ९ जना र मेची भन्सार कार्यालयबाट खटिएको ६ जनाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने ३९ वर्षीय परम पाठकलाई पक्राउ गरेको हो ।

 

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन, अमेरिकी डलर, भारतीय रुपैयाँलगायत बरामद भएको हो । उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन, ३० लाख ६५ हजारबराबरको २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ, सवारी चालक अनुमतिपत्र, आधार कार्ड फेला परेको छ ।

 

यसैगरी, दुई थान मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको छ । उनलाई आवश्यक कारवाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जनाइएको छ ।