झापा । नेपाल-भारतको सीमा क्षेत्रबाट दुई थान घरेलु पेस्तोलसहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ वाहिनीअन्तर्गत कादोमनीजोत ई कम्पनीका जवानहरूले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ कालीखोला, काँकडभिट्टा निवासी ३१ वर्षीय नवीन थापामगर रहेका छन्। उनलाई सोमबार गोप्य सूचनाका आधारमा भारतको भालुगाडा क्षेत्रमा नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एसएसबीका जवानहरूले शङ्कास्पद अवस्थामा रहेका मगरलाई जाँच गर्ने क्रममा उनको साथबाट दुई थान घरेलु पेस्तोल, एक थान म्यागजिन तथा ४ सय भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मगरले पैसाको लोभमा परी भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको गलगलियाबाट पानीटंकीसम्म अवैध हतियार ओसारपसार गर्ने गरेको खुल्न आएको बताइएको छ।
एसएसबीले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि बरामद हतियार र पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि खोरीबाडी थाना प्रहरीलाई बुझाएको छ। भारतीय प्रहरीले मगरविरुद्ध ‘आर्म्स एक्ट’ अन्तर्गत मुद्दा दर्ता गरेको छ।