इलाम । इलामको रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने योजनाको चाप र समय अभावलाई मध्यनजर गर्दै पुरानै समयतालिकाअनुसार कार्यालय सञ्चालन गरिने भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जनाए।
संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्नेलगायतका लक्ष्य राखेर कर्मचारीलाई दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि बिहान ९ देखि ५ बजेसम्म कार्यालय संचालन हुँदै आएको छ।
तर, प्रविधिमैत्री सेवा प्रवाह र सेवाग्राहीको पहुँच अझै प्रभावकारी बन्न नसकेको, साथै भौगोलिक अवस्थाका कारण सेवाग्राही बिहान ९ बजेअघि कार्यालयमा उपस्थित नहुने अवस्था देखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार नयाँ समयतालिका लागू भएयता रोङका कुनै पनि कार्यालयमा सेवाग्राही बिहान १० बजेअघि उपस्थित नभएको पाइएको छ ।
उनका अनुसार गाउँपालिकाको जेठ ४ गते बसेको कार्यपालिका बैठकले जेठ ६ गतेदेखि सामुदायिक विद्यालयबाहेक अन्य कार्यालय पुरानै समयतालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरिएको हो ।