अन्तराष्ट्रिय

लगभग ठप्प बनेको नेपाली चिया निर्यात पुनः सहज हुने अपेक्षा

By admin

May 20, 2026

झापा । नेपालबाट भारत निर्यात हुने चियामा अवरोध सिर्जना गरेको भारतको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अन्ततः संशोधन भएको छ।

 

भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि भारतीय टी बोर्डले आयातित चियामाथि लागू गरिएको अनिवार्य परीक्षण व्यवस्था खुकुलो बनाएको हो। अनिवार्य परीक्षण व्यवस्था खुकुलो बनाएसँगै लगभग ठप्प बनेको नेपाली चिया निर्यात पुनः सहज हुने अपेक्षा गरिएको छ ।

 

टी बोर्डले मंगलबार जारी गरेको सूचनाअनुसार भारतमा घरेलु बिक्रीका लागि भित्रिने चियालाई तत्कालका लागि अनिवार्य प्रयोगशाला परीक्षणबाट छुट दिइएको छ। यससँगै दुई सातादेखि लगभग ठप्प बनेको नेपाली चिया निर्यात पुनः सहज हुने अपेक्षा गरिएको हो।

 

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय पक्षले नियम संशोधन गरेपछि अब पहिलेझैं चिया निर्यात सहज हुने बताए। ‘नयाँ व्यवस्था लागू भएसँगै सीमामा रोकिएका चिया पुनः भारत पठाउन उद्योगी तयारीमा जुटेका छन्’, उनले भने।

 

भारतले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार नेपालबाट जाने हरेक चिया ‘कन्साइनमेन्ट’को नमूना संकलन गरी कोलकातास्थित प्रयोगशालामा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो। परीक्षण रिपोर्ट नआएसम्म गाडी रोकिनुपर्ने, उच्च शुल्क तिर्नुपर्ने र लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाले उद्योगी, निर्यातकर्ता र किसानहरू संकटमा परेका थिए।