खेलकुद

अर्जुनधारा वडास्तरीय फुटबलमा ११ नम्बर वडा विजयी

By admin

May 22, 2026

शनिश्चरे । झापाको अर्जुनधारामा जारी वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर ११ ले जित दर्ता गरेको छ । वडा नम्बर १० लाई २-० गोलले पराजित गर्दै ११ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

अर्जुनधारा ९ को नमुना खेलमैदानमा भएको खेलमा ११ नम्बर वडाको जितमा रोहन राईले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको २६औँ मिनेटमा गाेल गरेका हुन् । यसैगरी, खेलको ५३औँ मिनेटमा १० नम्बर वडाको तर्फबाट आत्मघाती गोल भएको थियो ।

 

उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ११ का कप्तान प्रदिप प्रधान खेलको प्लेयर अफ दी म्याच भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए । उनलाई ११ नम्बर वडाध्यक्ष खगेन्द्र इङनाम, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल र सचिव खगेन्द्र लिङदेनले पुरस्कार प्रदान गरेका थिए ।

 

प्रतियोगितामा ११ वटा वडाको सहभागिता रहेको छ । शनिबार वडा नम्बर २ र ६ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी पाउने छ ।

 

यसैगरी, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । स्थानीय गोलधाप युवा क्लब सहआयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।