शनिश्चरे । निखिल तामाङको ह्याट्रिक मद्दतमा शानदार जित निकाल्दै अर्जुनधारा ८ नम्बर वडा झापाको अर्जुनधारामा जारी वडास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा वडा नम्बर ३ को पोस्टमा ८ नम्बरले गोलवर्षा गरेको हो । ६-० गोलको फराकिलोअन्तरले पराजित गर्दै वडा नम्बर ८ अन्तिम आठमा पुगेको हो ।
अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा भएको खेलमा वडा नम्बर ८ का लागि निखिल तामाङले ह्याट्रिक गरे । उनले ३३औं, ६४औं र ६८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
वडा नम्बर ८ का लागि बादल तामाङले ३७औं, राजीव ढुङ्गनाले ५२औं मिनेटमा र दीपेश कटुवालले ७२औं मिनेटमा एक–एक गोल गरेका हुन् । वडा नम्बर ३ ले अपेक्षित प्रदर्शन गर्न नसक्दा फराकिलो हार बेहोर्नुपर्यो ।
ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ८ का खेलाडी निखिल तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, वडा नम्बर ५ का वडाध्यक्ष गिताराज खड्का र वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत भोलिबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा सोमबार वडा नम्बर ११ र वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य-सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगितामा अर्जुनधाराका ११ वटै वडाको सहभागिता रहेको छ । वडास्तरमा खेलाडी उत्पादन तथा नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ ।