खेलकुद

टाइब्रेकरबाट अर्जुनधारा ५ नम्बर वडास्तरीय फुटबलकाे सेमिफाइनलमा

By admin

May 26, 2026

शनिश्चरे । झापाको अर्जुनधारामा जारी वडास्तरीय फुटबल प्रतियोगितामा जितत निकाल्दै वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएकोे दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर २ माथि टाइब्रेकरबाट जित निकालेर ५ नम्बर वडाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

बाइ पाएर सिधैँ क्वाटरफाइनल खेलेको ५ नम्बर वडाले ३-२ गोलअन्तरमा वडा नम्बर २ लाई पराजित गरेको हो । निर्धारित समयमा दुवै वडाले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

 

खेलको प्लेयर अफ दी म्याच ५ नम्बर वडाका गोलरक्षक प्रविन बास्के भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए । टाइब्रेकरमा विपक्षीको २ वटा प्रहार रोकेका उनले एक गोल गरेका थिए ।

 

उनलाई प्रमुख अतिथि ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेती, ५ नम्बर वडाध्यक्ष गिताराज खड्का र नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले नगद र ट्रफी प्रदान गरे । बुधबार ८ नम्बर वडाले ९ नम्बर वडासँग तेस्रो क्वाटरफाइनल खेल्नेछ ।

 

११ वटा वडा सहभागी रहेको प्रतियोगिताको सहआयोजक स्थानीय गोलधाप युवा क्लब रहेको छ । जेठ १७ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्नेछ । यस्तै, अन्य विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले बताएका छन् ।