खेलकुद

अर्जुनधारा ८ वडास्तरीय फुटबलको सेमिफाइनलमा

By admin

May 27, 2026

शनिश्चरे । उपाधिको दाबेदार मानिएको अर्जुनधारा ८ नम्बर वडा यहाँ जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

नमुना खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ९ लाई ३-० गोलले पराजित गर्दै ८ नम्बर वडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

 

८ नम्बर वडाको जितमा राजिप ढुंगानाले व्यक्तिगत दुई गोल गरे । उनले खेलको १५औँ र ४१औँ मिनेटमा गोल गरेका हुन् । यसअघि समिर हेमरमले १३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

 

 

खेलको प्लेयर अफ दी म्याच ८ नम्बर वडाका राजिप ढुंगाना भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए । उनलाई ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेती, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल र सचिव खगेन्द्र लिङदेनले नगद र ट्रफी प्रदान गरे ।

 

 

बिहीबार ५ नम्बर वडाले १ नम्बर वडासँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । ११ वटा वडा सहभागी रहेको प्रतियोगिताको सहआयोजक स्थानीय गोलधाप युवा क्लब रहेको छ । जेठ १७ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्नेछ ।