खेलकुद

अर्जुनधारा १ वडास्तरीय फुटबलको फाइनलमा

By admin

May 28, 2026

शनिश्चरे । टाइब्रेकरमा भाग्यमानी बन्दै अर्जुनधारा १ नम्बर वडा झापाकाे अर्जुनधारामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा १ नम्बर वडाले ५ नम्बर वडालाई ५-४ गोलअन्तरले पराजित गर्दै उपाधि यात्रामा उक्लिएको हो ।

 

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको ४ मिनेटमै गोल गरेर प्रेम राजवंशीले वडा नम्बर ५ लाई अग्रता दिलाएका थिए । तर, ३ मिनेट सम्हालिन नसक्दा १ नम्बर वडाका विशाल गोलेले इन्जुरी समयमा गोल गर्दै खेलमा फर्काए ।

 

टाइब्रेकरमा वडा नम्बर १ का विशाल गोले, तेजेन बुर्जा मगर, मनोज राई, मिराज मल्ल र गोपाल राईको प्रहार गोलमा परिणत भएको थियो । वडा नम्बर ५ का लागि राम महतरा, रोशन दनुवार, बुद्ध चौधरी र प्रविन बास्केको प्रहार गोलमा परिणत हुँदा भीम गजमेरको प्रहार १ नम्बर वडाका गोलरक्षक बुद्ध नेम्बाङले रोकेका थिए ।

 

उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक बुद्ध नेम्बाङ प्लेयर अफ दी म्याच बने । उनलाई वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई, आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमाल र सचिव खगेन्द्र लिङदेनले नगद १ हजार ५ सयसहित ट्रफी प्रदान गरे ।

 

शुक्रबार वडा नम्बर ८ र ११ बीच फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल हुनेछ । ११ वटा वडा सहभागी रहेको प्रतियोगिताको सहआयोजक स्थानीय गोलधाप युवा क्लब रहेको छ । जेठ १७ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्नेछ ।