समाज

अर्जुनधाराका भेटेरिनरी प्राविधिकलाई प्रारम्भिक सर्जरी तालिम

By admin

May 29, 2026

शनिश्चरे । झापाको अर्जुनधारामा पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले भेटेरिनरी डाक्टर तथा प्राविधिकहरुलाई लक्षित गरी दुईदिने प्रारम्भिक सर्जरीसम्बन्धी तालिम दिइएको छ ।

 

नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले अर्जुनधारा ९ कटहरडाँडास्थित शाखाको कार्यालय सभाहलमा आयोजना गरेको तालिमको उद्घाटन नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।

 

नगर प्रमुख गोम्देनले सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइसकेकाले गुणस्तरीय सेवा प्रवाह गर्न तालिमका सहभागीलाई आग्रह गरेका छन् । मानिसलाई जस्तै पशुलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नगरको उद्देश्य रहेको पनि उनले सुनाए ।

 

सहजकर्ता भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा राघवेन्द्र तिवारीले सहजिकरण गरेको तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए । उनका अनुसार प्रशिक्षार्थीहरुलाई सर्जरीसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयको ज्ञान र सीप प्रदान गरिएको छ ।

 

एक करोड ७७ लाख रुपैयाँको लागतमा शाखाले निर्माण गरेको नयाँ भवनमा ल्याब, ए-क्सरे, सर्जरीसहितको सुविधा सम्पन्न पशु अस्पताल सञ्चालनको तयारीमा रहेको हुँदा दक्ष जनशक्ति उत्पादन गर्न तालिम महत्वपूर्ण हुने बताइएको छ ।

 

शाखा प्रमुख राईले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले स्वागत गरेकी थिइन् ।