अर्थ बजार

अर्जुनधाराका किसानलाई घारसहित मौरीपालन तालिम

By admin

May 29, 2026

शनिश्चरे । नयाँ मौरी पकेट विकास कार्यक्रमअन्तर्गत अर्जुनधाराका किसानलाई लक्षित गरी तीन दिने आधारभूत मौरीपालन तालिम सुरु भएको छ ।

 

अर्जुनधारा ९ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूह र सुखानी सहिद स्मृति प्रतिष्ठानको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

 

वन समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षता तथा नगरपालिकाकी आर्थिक समितिकी संयोजक गौरीमाया चिमरियाको प्रमुख आतिथ्यमा भएको तालिमको उद्देश्यबारे नगर कृषि शाखाका प्राविधिक कृष्णराज जोशीले जानकारी गराएका थिए । मौरीपालन मह उत्पादनका लागि मात्र नभएर वातावरण सन्तुलन राख्न, बाली उब्जनी बढाउनलगायतमा महत्वपूर्ण भूमिका खेल्ने जोशीले बताए ।

 

समूहकी उपाध्यक्ष टिकामाया गौतमले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुराम घिमिरे, प्रमुख अतिथि चिमरिया, समूहका अध्यक्ष राईलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

तालिमका ३० जना सहभागीलाई चुलाचुली गाउँपालिकाका कृषि शाखा प्रमुख सुभाष दाहालले प्रशिक्षण दिइरहेका छन् । ६ लाख ३४ हजार खर्च हुने तालिममा ५० प्रतिशत लागतमा सहभागीलाई सेरेना प्रजातिको मौरीको एक थान घार प्रदान गरिने समूहका अध्यक्ष राईले जानकारी दिए ।