खेलकुद

सहज जितसँगै अर्जुनधारा ८ वडास्तरीय फुटबलकाे फाइनलमा

By admin

May 29, 2026

शनिश्चरे । अर्जुनधारा ८ नम्बर वडा टिम उत्कृष्ट प्रदर्शन गर्दै यहाँ जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आज नमुना खेलमैदानमा भएको अन्तिम सेमिफाइनलमा ११ नम्बर वडालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै ८ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो ।

 

उपाधिको दाबेदार टोली ८ नम्बर वडाका लागि खेलको २२औँ मिनेटमा समिर हेमरमले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका निखिल तामाङले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ६८औँ मिनेटमा राजिप ढुंगानाले गोल गरेर फराकिलो नतिजा निकाले ।

 

व्यक्तिगत दुई गोल गरेका निखिल तामाङ खेलको प्लेयर अफ दी म्याच बने । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए । उनलाई अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, ११ नम्बर वडाध्यक्ष खगेन्द्र इङनाम, खेलकुद समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव खगेन्द्र लिङदेनले पुरस्कार वितरण गरेका थिए ।

 

फाइनल यात्रासँगै वडा नम्बर ८ ले जेठ १७ गते वडा नम्बर १ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । ११ वटा वडा सहभागी भएको प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्नेछ ।