समाज

अर्जुनधाराबाट चिरान काठसहित पिकअप र दुईजना पक्राउ

By admin

June 02, 2026

झापा । उत्तरी पालिका अर्जुनधाराबाट सशस्त्र प्रहरीले तयारी चिरान काठसहित पिकअप र दुईजना स्टाफलाई पक्राउ गरेको छ ।

 

आज बिहान ७ बजे अर्जुनधारा ३ स्थित नेपाल डाँडा इलाकामा सशस्त्र प्रहरी बलको शनिश्चरे बेसबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको टोलीले इलाम देउमाई ८ जितपुर बस्ने २४ वर्षीय साजन मगर (चालक) र ४० वर्षीय सरोज कट्टेल (सहचालक) लाई चिरान काठसहित पक्राउ गरेको हो ।

 

इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो पिकअपलाई शंका लागेर चेकजाँच गर्ने क्रममा स्थानान्तरण इजाजत पत्रबिनाको अन्दाजी मूल्य २ लाख ३२ हजार २३८ बराबरको ५१ थान तयारी झ्यालको पल्ला, ढोकाको चौकट, कुर्सी र टि-टेबल बरामद भएको थियो ।

 

बरामद गरिएका सामानमा झ्यालको चौकट ६ थान, ढोकाको चौकट ६ थान, झ्यालको पल्ला २४ थान, कुर्सी १४ थान र टि-टेवल १ थान रहेका छन् ।

 

१० लाख बराबरको बोलेरो पिकअप गरि जम्मा १२ लाख ३२ हजार २३८ बराबरको पिकअप, तयारी चिरान काठ र ब्यक्तिसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि कन्काई सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको सशस्त्र प्रहरी वल नेपाल नं २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पाखरेलले जनाएका छन् ।