दमक । नियोजित ढंगले हत्या गरेपछि बोरामा हालेर रतुवा पुलमाथिबाट फालिएकी रमा तिवारीको हत्याको आरोपमा उनका केटा साथी पक्राउ परेका छन् ।
दमक ठेगाना भएका रमाको ब्वायफ्रेण्ड सोमबार पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरिसकेको छैन । रतुवा खोलामा शनिबार शव भेटिएकी दमक ८ बसन्त टोलकी रमा तिवारी केटा साथीसँग भेट्न आमासँग अनुमति मागेर घर बाहिर निस्किएकी थिइन् ।
आमा मुना तिवारीका अनुसार जेठ १३ गते राति एकाएक रमाको मोबाइलमा उनका केटा साथीले फोन गरेर भेट्न बोलाएका थिए । रमा र ती केटा साथीबीच नजिकको साथीको सम्बन्ध थियो । गर्ल फ्रेन्ड–ब्वाय फ्रेण्डकै रुपमा उनीहरुबीचको सम्बन्धलाई तिवारी परिवारले लिएका थिए ।
उनीहरुबीच भेटघाट र कुराकानी हुन नपाएको लामै समय बितिसकेको थियो । केटा साथीलाई उनको परिवारले लागूऔषधको कुलतबाट मुक्त गराउन एक सुधार केन्द्रमा राखिदिएका थिए ।
१३ जेठको साँझमा नै केटा साथी सुधार गृहमा तोकिएको कोर्ष पूरा गरेर बाहिर निस्किएका थिए । उनले बाहिर निस्किनसाथ रमासँग सम्पर्क गरेर भेट्न बोलाएको मृतक रमाकी आमा मुना तिवारीले सार्वजनिक गरेकी छिन् । घरबाट निस्किएको पाँच दिनपछि रमाकी आमाले छोरीको शव देखेपछि पहिचान गरेकी हुन् ।
आमा मुनासँगै बुवा नारायण तिवारीले पनि रमाको शव सनाखत गरे । उनको सोमबार परिवारले दाहसंस्कार गरेका छन् । रमा हत्याकाण्डको अनुसन्धाननजिक पुगेको प्रहरीले जनाएको छ । केही दिनमै प्रहरीले घटनाको दोषी सार्वजनिक गर्न लागेको बुझिएको छ ।