समाज

झापाको मेचीनगरमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

By admin

June 03, 2026

धुलाबारी । झापाको मेचीनगर नगरपालिका ७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

 

आज अपराह्न भएको दुर्घटनामा मेचीनगर ७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार मेचीनगर ९ मा रहेको होलिबेल स्कुलको मे. १ क ३९१ नम्बरको स्कुल बस गोमनसरीबाट धुलाबारीतर्फ भित्री सडकहुँदै जाँदै थियो। सोही समयमा इँटाभट्टाबाट गोमनसरीतर्फ आउँदै गरेको मे. ९ प ९९०७ नम्बरको मोटरसाइकलसँग इँटाभट्टा क्षेत्रको सिमेन्ट फ्याक्ट्री नजिक बस ठोक्किएको थियो।

 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र पछाडि सवार माझीलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्‍याइएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

 

दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।