समाज

ब्राउन सुगरसहित दमकका विमल, सन्देश र बिर्ताबजारकी पुष्पा पक्राउ

By admin

June 05, 2026

बिर्तामोड । झापामा प्रतिबन्धित लागूऔषधसहित एकैदिन तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमकका दुई युवा र बिर्ताबजारकी एक युवती रहेका छन् ।

 

हिजो साँझ ५ः३० बजे झापा गाउँपालिका ५ सिलमडाँगीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १-०२-०४२ प ३२४५ नम्बरको मोटरसाइकलका चालक दमक ६ बस्ने १९ वर्षीय विमल कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १४ ग्राम ०४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

सोही मोटरसाइकलमा पछाडि सवार दमक १ बस्ने २० वर्षीय सन्देश कुमालसमेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

 

त्यस्तै हिजो दिउँसो ४ बजे भद्रपुर ५ नयाँ बजारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री बिर्तामोड ३ बिर्ताबजारकी २२ वर्षीया पुष्पा परियारलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

 

शंका लागेर चेकजाँच गर्दा उनले पेटभित्र प्लाष्टिकको पोको पारी लुकाई छिपाई राखेको प्लाष्टिकबाहेक २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि थप अनुसन्धानको लागि जिप्रका झापा ल्याइएको छ ।