शनिश्चरे । झापाको अर्जुनधारा ४ मा एकदिने आँखा शिविर सम्पन्न भएको छ । दहिझोडा सामुदायिक स्वास्थ्य इकाइको कार्यालयमा भएको शिविरको उद्घाटन नगर प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए ।
अर्जुनधारा ४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षतामा भएको आँखा शिविरमा २२४ जना स्थानीयले सेवा लिएका थिए । जसमध्ये २ जनाको आँखामा ऐँजेरु पलाएको र १७ जनामा मोतियाविन्दू रहेको स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी रोशन बस्नेतले जानकारी दिए ।
बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा ५८ जनालाई चस्मा वितरण गरिएको छ । अर्जुनधारा नगरपालिका, ४ नम्बर वडा कार्यालय र दहिझोडा सामुदायिक वन उपभोक्ता समूह सहयोगी रहेको शिविर आँखा अस्पतालका प्राविधिक विनोद दाहालले आँखा परीक्षण गरेका थिए ।