झापा । भद्रपुर नगरपालिका ८ मा रहेको उडल्याण्ड होटलमा धारिलो हतियार खुकुरी र कत्ती देखाएर आतंक मच्चाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ९ बजे उडल्याण्ड होटलमा केही व्यक्तिले खुकुरी देखाउँदै गुण्डागर्दी गरेर त्यहाँबाट फरार भएका थिए । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार दिउँसो करिब २ बजे भद्रपुर १० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडि उनीहरूलाई फेला पारी नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा मेचीनगर १० का ३६ वर्षीय कविराज गुरागाईँ र बिर्तामोड ७ का ३० वर्षीय पराजय चौधरी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट एक थान खुकुरीसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।