अर्थ बजार

अर्जुनधारामा असार ३ गतेदेखि तीनदिने रोजगार मेला हुने

By admin

June 15, 2026

शनिश्चरे । झापाको अर्जुनधारामा तीनदिने रोजगार मेला आयोजना हुने भएको छ । अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा असार ३ देखि ५ गतेसम्म मेला आयोजना हुने भएको हो।

 

वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले दक्ष श्रमिकको अभाव र बेरोजगारीको समस्या समाधानका लागि रोजगार मेला प्रभावकारी हुने बताए । उनका अनुसार मेलामार्फत करिब १८० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ।

 

खड्काले रोजगार मेलापछि अदक्ष कामदारलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी युवालाई स्वरोजगार बनाउने योजना पनि रहेको बताए। मेलामा रोजगारसम्बन्धी अवसरका साथै जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधिसमेत समावेश गरिनेछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले रोजगार मेला आयोजना गर्न ढिलाइ भएको स्वीकार गर्दै यस्तो कार्यक्रमले समृद्धिको आधार निर्माण गर्ने बताए। उनले रोजगार मेलाले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकलाई रोजगारीका अवसरबारे जानकारी गराउने विश्वास व्यक्त गरेका छन्।

 

मेयर गोम्देनले अर्जुनधाराबासीलाई रोजगार मेलामा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गर्दै सकेसम्म धेरै नागरिकले रोजगारीको अवसर प्राप्त गरून् भन्ने नगरपालिकाको अपेक्षा रहेको बताए।