अन्तराष्ट्रिय

चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग

By admin

June 16, 2026

झापा । चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ।

 

फिल्मलाई सांस्कृतिक आदानप्रदानको माध्यम बनाउँदै आयोजित प्रदर्शनीले चीन र नेपालबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाएको आयोजकले जनाएको छ।

 

हिजो पोखरामा सम्पन्न कार्यक्रमले नेपाली विद्यार्थी, प्राध्यापक र फिल्मकर्मीलाई समकालीन चिनियाँ चलचित्र, विशेषगरी वुसिया संस्कृतिको नयाँ आयामसँग परिचित गराएको थियो। प्रदर्शनीअन्तर्गत त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालमा विशेष फिल्म प्रदर्शन, अन्तरक्रिया, व्याख्यान तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिएको थियो।

 

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि आयोजित भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियर सहभागी हुँदै जिन योङका साहित्य, वुसिया कथाको नैतिक पक्ष, साहित्यबाट चलचित्रमा रूपान्तरण र समकालीन समाजमा ‘वीरताको भावना’बारे चर्चा गरेका थिए।

 

त्यसक्रममा सहभागी विद्यार्थी र प्राध्यापकहरूले चिनियाँ वुसिया कथामा प्रस्तुत हुने न्याय, साहस र मानवीय मूल्यहरू नेपाली कला तथा संस्कृतिमा पाइने प्रकृति र मानवबीचको सहअस्तित्वको भावनासँग मेल खाने धारणा व्यक्त गरेका थिए।

 

त्यस्तै, बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले ‘चाइनिज वुसिया सिनेमाः फ्रम सेन्चुरी टु द वल्र्ड’ शीर्षकमा व्याख्यान दिँदै चिनियाँ मार्सल आर्ट चलचित्रको विश्वव्यापी प्रभाव र आधुनिक सन्दर्भबारे प्रकाश पारेका थिए।

 

कार्यक्रमको दोस्रो चरण पोखरा विश्वविद्यालयमा केन्द्रित थियो। प्रदर्शनीकी संस्थापक ह्वाङ जुनयानले उद्घाटन गर्दै हिमालय क्षेत्रका मुलुकबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन्।

 

पोखरामा आयोजित विशेष अन्तरक्रियामा अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ‘वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए। कार्यक्रममा चीनको एक अग्रणी एआई कम्पनीका विज्ञ रायन सहभागी हुँदै कृत्रिम बुद्धिमत्ताले फिल्म निर्माण, सम्पादन, वितरण र बजार संरचनामा ल्याइरहेको परिवर्तनबारे अनुभव साझा गरेका थिए।

 

छलफलमा एआईले चलचित्र उद्योगको भविष्य कसरी पुनःपरिभाषित गरिरहेको छ भन्ने विषय प्रमुख रूपमा उठाइएको थियो। ‘द मास्टर’ र ‘आई एम ह्वाट आई एम-२’ चलचित्र पनि प्रदर्शन गरिएका थिए।

 

‘द मास्टर’ले चिनियाँ मार्सल आर्ट परम्परा र वीरताको यथार्थवादी चित्रण प्रस्तुत गरेको थियो भने ‘आई एम ह्वाट आई एम-२’ मा डिजिटल दृश्य प्रभावमार्फत युवाहरूको सपना, संघर्ष र आत्मविश्वासको कथा देखाइएको छ ।