ताप्लेजुङ । पूर्वको धार्मिक आस्थाको केन्द्र पाथीभरा मन्दिरमा जेठ महिनामा ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी रकम सङ्कलन भएको छ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको योसँगै चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ करोड ४९ लाख रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। तीर्थयात्रीले चढाएको भेटी रकम वैशाखमा मात्रै १ करोड रुपैयाँभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले चढाएको भेटी पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने र पोकामा लाहाछाप लगाई माथिल्लो फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन्।
फेदीबाट सदरमुकाम फुङलिङस्थित कार्यालयमा ल्याएर दैनिक गणना गरिन्छ। कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सीसीटीभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने प्रचलन छ।
समितिका अनुसार जेठ महिनामा ८ हजार ३८७ जना तीर्थयात्री मन्दिर आएका छन्। योसँगै जेष्ठ मसान्तसम्म पाथीभरा आउनेको संख्या १ लाख ८८ हजार ६ सय पुगेको समितिले जनाएको छ।