एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा सह आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ। मेक्सिकोको यो लगातार दोस्रो जित हो ।
ग्वाडालाजारामा ५०औँ मिनेटमा मिनेटमा निस्केको गोल नै खेलको निर्णायक बन्यो । मिडफिल्डर लुइस रोमोले गोलकिपर किम सिउङ-ग्युले बल नियन्त्रण गर्न नसकेपछि खाली पोस्टमा सजिलै गोल गरेका थिए। किम आफ्नै डिफेन्डर ली गी-ह्युकसँग ठोक्किएपछि बल फुत्किएको थियो।
पहिलो हाफमै कप्तान सोन ह्युङ-मिनले गोलकिपर राङ्गेललाई चिप गरेर गोल गरेजस्तो देखिए पनि एडसन आल्भारेजले लाइनबाट बल क्लियर गरेका थिए। तर त्यो अवसर अफसाइड घोषित भयो।
यो जितसँगै मेक्सिको लगातार दोस्रो जितसहित समूह ‘ए’ मा शीर्ष स्थानमा पुगेको छ र नकआउट चरण सुरक्षित गरेको छ। प्रशिक्षक हाभियर अगिरेको टोलीले अन्तिम समूह खेलमा चेक गणतन्त्रसँग नहारे शीर्ष स्थान पक्का गर्नेछ।
दक्षिण कोरिया भने पहिलो खेलमा चेक गणतन्त्रलाई हराएको कारण अझै पनि नकआउट पुग्ने सम्भावनामा मजबुत अवस्थामा छ। उनीहरूले अब दक्षिण अफ्रिकासँग आफ्नो अन्तिम समूह खेल खेल्नेछन्।