अर्थ बजार

अर्जुनधाराका किसानलाई ३० थान मौरीसहित घार वितरण

By admin

June 20, 2026

शनिश्चरे । नयाँ मौरी पकेट विकास कार्यक्रमअन्तर्गत झापा अर्जुनधाराका किसानलाई लक्षित गरी आयोजित तीनदिने आधारभूत मौरीपालन तालिमका सहभागीलाई शनिबार मौरीसहित घार वितरण गरिएको छ ।

 

अर्जुनधारा ९ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूह र सुखानी सहिद स्मृति प्रतिष्ठानको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा तालिमसहित मौरी प्रदान गरिएको हो ।

 

वन समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षता तथा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ६ लाख ३५ हजार मूल्यबराबरको ३० थान मौरीसहितको घार वितरण गरिएको हो ।

 

कार्यक्रममा बोल्दै नगरप्रमुख गोम्देनले किसानलाई घरमै बसेर आर्थिक उपार्जनमा सहयोग पुग्नेगरी मौरीपालन उपलब्धिमुलक बन्ने बताए । किसानहरु व्यावसायिक बन्न सकेको खण्डमा स्थानीय सरकारले पनि थप सहयोग प्रदान गर्ने उनको प्रतिबद्धता थियो ।

 

समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षतामा भएको कार्यक्रममा नगर कृषि शाखा प्रमुख दिलमाया मगरले शुभकामना दिएकी थिइन् । मौरीपालन मह उत्पादनका लागि मात्र नभएर वातावरण सन्तुलन राख्न, बाली उब्जनी बढाउनलगायतमा महत्वपूर्ण भूमिका रहने उनले सुनाइन् ।

 

समूहकी उपाध्यक्ष टिकामाया गौतमले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुराम घिमिरेले आफ्ना भनाइ राखेका थिए । तालिमका ३० जना सहभागीलाई ५० प्रतिशत अनुदान र ३० प्रतिशत समूह र प्रतिष्ठानले व्यहोर्दा सहभागीले २० प्रतिशत व्यहोरेका छन् । उनीहरुलाई सेरेना प्रजातिको मौरीसहितको एक थान घार प्रदान गरिएको हो ।