समाज

बिरिङ खोलाको पानीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

By admin

June 20, 2026

झापा । झापाको बिरिङ खोलाको पानीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीया बालिका रहेकी छन् ।

 

आज बिहान १० बजेदेखि हराइरहेकी कन्काई १ का कुलबहादुर रसाइलीकी ५ वर्षीया छोरी सोनिया रसाइलीको बिरिङ खोलाको पानीमा डुबेको अवस्थामा दिउँसो ३ बजे शव फेला परेको हो ।

 

छोरी हराएर बेपत्ता भएपछि सोनियाकी आमा अमृता रसाईलीले अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा मौखिक जानकारी गराएकी थिइन् । अस्थायी प्रहरी पोस्ट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक दीर्घबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला पारेको प्रहरीले जनाएको छ ।

 

उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।