अन्तराष्ट्रिय

अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा

By admin

June 23, 2026

झापा (एजेन्सी) । साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

 

समूह ‘जे’ अन्तर्गत डलासमा गएराति भएको खेलमा अष्ट्रियालाई दुई गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले दुई गोल गरे ।

 

योसँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । ३९ वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल सङ्ख्या १८ पुर्‍याएका छन् ।

 

यसैगरी, फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३ गोलले हरायो । यो खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गरे । उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल २ घण्टा रोकिएको थियो ।

 

यस्तै, इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३-१ ले पराजित गरेको छ र समूह आई मा दुई खेलबाट अधिक्तम छ अंक बटुलेको छ । यो जितपछि नर्वे प्रतियोगिताको नकआउट चरणका लागि पनि छनोट भएको छ ।