शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोद्वारा गत वैशाख २६ गते आयोजित प्रथम उपप्रमुख कराते कप प्रतियोगिताको आय-व्यय सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्दै डोजोकी सचिव निशा राईले अर्जुनधारा नगरपालिका, ८ र ९ नम्बर वडा कार्यालय तथा विभिन्न संघसंस्था र दाताबाट ३ लाख १८ हजार ५ सय रुपैयाँ संकलन भएको जानकारी दिइन् ।
त्यसमध्ये प्रतियोगिता सम्पन्न गर्न २ लाख ७६ हजार खर्च भएको र डोजोले ४२ हजार ५ सय बचत गर्न सफल भएको सचिव राईले बताइन् । डोजोका अध्यक्ष नारदमणि नेपालका अनुसार बचत रकम र दाताको सहयोगबाट निर्माणकै क्रममा रहेको डोजोको भवनलाई पूर्णता दिइने भएको छ ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ८ नम्बर वडाका अध्यक्ष एवं अन्तर्राष्ट्रिय कराते रेफ्री कुमारप्रसाद उप्रेतीलाई दोसल्ला तथा नेपाली ढाका टोपी पहिर्याएर सम्मान गरिएको थियो । उप्रेती करातेका संस्थापक प्रशिक्षक पनि हुन् ।
यसैगरी, प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने युवा व्यवसायी इन्द्रसेन तामाङलगायत दाताहरुलाई कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो । डोजोका अध्यक्ष नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्थानीय युवा रमेश भट्टराईले सञ्चालन गरेका थिए ।