समाज

मलद्वारमा ब्राउनसुगर ल्याउने दुई कारोबारी भद्रपुरमा पक्राउ

By admin

July 06, 2026

झापा । भारतबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउँदै गर्दा भद्रपुरमा दुईजना कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र इलामका छन् ।

 

हिजो दिउँसो ४ः३० बजे भद्रपुर ५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१२ प ९५३६ नम्बरको स्कुटी चालक बिर्तामोड ९ गरामनी बस्ने ४४ वर्षीय चन्द्रप्रसाद राजवंशीलाई पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकबाहेक १४ ग्राम १४० मिलिग्राम ब्राउनसुगर लुकाएर ल्याएका थिए । स्कुटीसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

त्यस्तै भारतबाट लागूऔषध लिएर आउँदै गर्दा भद्रपुरमा इलामका एक युवक पक्राउ परेका छन् । हिजो साँझ ६ः४० बजे मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री इलाम चुलाचुली २ बस्ने २३ वर्षीय रोहित कुमाललाई पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा उनले पनि मलद्वारभित्र लुकाईछिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ३ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।