समाज

घर फर्किएका चार सपना: एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

By admin

July 06, 2026

कृष्ण सिंजाली,

झापा । असारको तेस्रो साता। भारतको कोलकातास्थित नेपालको महावाणिज्य दूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। तर, त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभ सन्देश बोकेको थियो।

 

पत्रमा चार नाम थिए- मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३), दुवै जना झापाका, सुरज जोगी (१४), मोरङ तथा माया तामाङ (१७) नुवाकोट । बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको छ।

 

कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो- विछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना। यी बालबालिकाहरू भारतको पश्चिम बंगालस्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स तथा हसान्ना कोभेनेन्ट च्यारिटेबल ट्रस्ट, कालिम्पोङको संरक्षणमा रहेका थिए।

 

बालगृह उनीहरूका लागि सुरक्षित आश्रय बनेको थियो। त्यहीँ उनीहरू विद्यालय जान्थे, पढ्थे, नयाँ साथी बनाउँथे र भविष्यका सपना बुन्थे। तर, साँझ पर्दै जाँदा उनीहरूको मन भने सधैं आफ्नै घरको आँगनतिर पुग्थ्यो। झ्यालबाहिरको आकाश हेर्दै उनीहरू सोच्थे, ूमेरो घर अहिले कस्तो होला ?

 

बाबुआमाले मलाई सम्झिरहनुभएको होला ? हजुरआमाले अझै मेरो बाटो हेरिरहनुभएको होला ? समय र परिस्थितिले उनीहरूलाई आफ्नै देशबाट टाढा पुर्‍यायो। बाल्यकाल नै अपरिचित भूमिमा बिताउन बाध्य भएका उनीहरूका लागि घर फर्किने आशा भने कहिल्यै मरेन।

 

भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्य दूतावास र नव अभियान नेपालको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई सुरक्षितरूपमा नेपाल फर्काई आफ्ना परिवारसँग पुनर्मिलन गराउन सम्भव भयो।

 

पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाईं, महिला तथा बालबालिका शाखाकी प्रहरी नायव निरीक्षक मिलनकुमारी राई, नेपालको महावाणिज्य दूतावास, कोलकाताका कार्यालय सचिव सतीश थापा, सम्बन्धित चिल्ड्रेन्स होमकी सुमित्रा रोय तथा ट्रस्टका सन्जोक बराइली, नव अभियान नेपालका प्रतिनिधिहरू, सम्बन्धित सरकारी निकायका अधिकारीहरू तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो।

 

सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षितरूपमा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

 

उनीहरूका आँखामा अनेकौं भावना थिए- थोरै डर, धेरै उत्सुकता र अझ धेरै आशा। आखिर वर्षौंपछि उनीहरू आफ्नै देश, आफ्नै माटो र आफ्नै परिवारको न्यानो अँगालोमा फर्किन सफल भएका थिए।

 

त्यो दिन कुनै ठूलो समारोह भएन। न त धेरै प्रचार भयो, न त ठूलो भीड जम्मा भयो। तर, ती चार परिवारका लागि त्यो दिन जीवनकै सबैभन्दा ठूलो उत्सव थियो। विछोडको अँध्यारोपछि आशाको उज्यालो फर्किएको दिन थियो।

 

कहिलेकाहीँ एउटा सरकारी पत्र केवल प्रशासनिक कागजातमात्र हुँदैन। त्यसले टुटेका सम्बन्धहरू फेरि जोड्ने पुल बन्छ। हराएका मुस्कानहरू फर्काउने माध्यम बन्छ। र, एउटा बालबालिकालाई आफ्नै घरको आँगनसम्म सुरक्षित पुर्‍याउने आशाको यात्रा बन्छ।