समाज

पालिकाको भवनबाट लडेर मृत्यु हुनेको परिवारलाई २० लाख राहत रकम

By admin

July 08, 2026

झापा । झापाको बाह्रदशी गाउँपालिकाको भवनबाट लडेर मृत्यु हुने कामदारको परिवारलाई २० लाख रुपैयाँ राहत रकम दिइने भएको छ ।

 

बाह्रदशी गाउँपालिकाको सभाहलमा आज भएको छलफलमा ठेकेदार पक्षले मृतक परिवारलाई राहत रकमस्वरुप बीस लाख रुपैयाँ दिने सहमति भएको हो ।

 

हिजो बिहान १० वजे बाह्रदशी ४ स्थित चकचकीमा निर्माणाधिन गाउँपालिकाको नयाँ भवनमा रङ लगाउने क्रममा मोरङ सुन्दरहरैचा ४ निवासी ४२ वर्षीय टंक थापा भवनको माथिबाट खसेर गम्भीर घाइते भएका थिए ।

 

बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको थियो । सोही विषयमा आज पीडित पक्षबाट मृतककी श्रीमती रमा थापा, छोरा अमित थापा, सुन्दरहरैचा ४ का वडाध्यक्ष कैलाश बस्नेत, नवीन दाहाल, नागरिक समाजका अगुवालगायत २५ जनाको टोली बाह्रदशी गाउँपालिका गएका थिए ।

 

गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लागाई, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, प्रहरी प्रशासनलगायत करिब ५० जनाको उपस्थितिमा गाउँपालिकाको सभाहलमा पीडित पक्षलाई राहत दिने विषयमा छलफल भएको थियो ।