समाज

यलम्बर टाइम्स १९औँ वर्षमा, ‘खुवालुङ’काे विमोचन

By admin

July 17, 2026

बिर्तामोड । झापाको अर्जुनधाराबाट नियमित प्रकाशित यलम्बर टाइम्स साप्ताहिक १९औँ वर्षमा प्रवेश गरेको छ । वर्षगाँठको अवसरमा आज यलम्बर टाइम्सको विशेषांक ‘खुवालुङ’काे विमोचन पनि गरिएको छ ।

 

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पूर्र्व प्रदेश मुख्यमन्त्री राजेन्द्र राई, पूर्व अर्थमन्त्री इन्द्र आङ्वो, नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापाका अध्यक्ष एकराज गिरी, फोनिज केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, किरात राई यायोक्खा झापा अध्यक्ष गणेशबहादुर राई, किरात याक्थुम चुम्लुङ केन्द्रीय सदस्य धर्म लक्सम्वा, अर्जुनधाराका पूर्व नगर प्रमुख हरिकुमार रानालगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।

 

पत्रिकाका सम्पादक दिपिन राईले किरातीको उद्गम थलो नै खुवालुङ भएकाले मुन्धुमी सन्देशका रुपमा यलम्बर टाइम्सले ‘खुवालुङ’ म्यागेजिन विशेषांकको रुपमा प्रकाशन गरेको जानकारी दिए ।

 

कार्यक्रममा प्रमुख अतिथि राई, विशिष्ठ अतिथि आङ्वो, महासंघ झापा अध्यक्ष गिरी, पूर्व प्राज्ञ मुनाराज शेर्मा, लेखक तथा साहित्कार देसु वनेमलगायले आफ्ना भनाइ राखेका थिए भने विशेषांकको समिक्षा साहित्यकार कुमार भट्टराईले गरेका थिए ।

 

सम्पादक राईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाकी समाचार प्रमुख लीला राईले स्वागत गरेकी थिइन् भने सञ्चालन सहसम्पादक राजन साम्पाङले गरेका थिए । प्रकाशन टोलीले गतवर्ष ‘मुक्कुमलुङ’ विशेषांक बजारमा ल्याएको थियो ।