समाज

डिभिजन वन झापाको गाडीको ठक्करबाट महिलाको मृत्यु

By admin

July 20, 2026

झापा । डिभिजन वन कार्यालय झापाको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज बिहान १०ः४५ बजे मेचीनगर १५ कालिकास्थित भित्री सडकखण्डमा दुर्घटना भएको थियो ।

 

काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरको डिभिजन वन कार्यालय झापाको बागमती प्र. १–००२ झ ७३६० नम्बरको स्कोरपियो गाडीसँग ठोक्किएको थियो ।

 

दुर्घटनामा सिटी सफारीमा सवार यात्रु मेचीनगर १५ बस्ने ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा बिहान ११ः१५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

 

दुर्घटनापछि स्कोरपियो गाडी फरार भएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निषेश चापागाईको कमाण्डमा खटिएको टोलीले बिहान ११ः५० बजे मेचीनगर ४ बाहुनडाँगीबाट गाडी र गाडी चालक भद्रपुर १० बस्ने ५४ वर्षीय लिला श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

 

सिटी सफारी चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय गम्भीरप्रसाद बातर र सिटी सफारीलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएको छ ।