समाज

दमकमा श्रीमान-श्रीमतीबीच झागडा हुँदा दुवै जनाकाे मृत्यु

By admin

July 22, 2026

झापा । झापाको दमक नगरपालिका १ स्थित सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछि भएको घटनामा दुवैको मृत्यु भएको छ।

 

प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य विवाद चर्किएर झगडामा परिणत भएको थियो। सो क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो।

 

घटनापछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। सो अवस्था उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले देखेपछि पासो काटेर उनलाई तल झारेकी थिइन् र तत्काल इलाका प्रहरी कार्यालय दमकमा खबर गरेकी थिइन्।

 

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल दमक अस्पताल पुर्‍याएको थियो। तर, दिउँसो करिब ३ः३० बजे अस्पतालमा चिकित्सकले परीक्षण गर्दा दुवै जनाको मृत्यु भइसकेको घोषणा गरेका थिए।

 

प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।