अर्थ बजार

इलामको नयाँ बजारबाट भारतीय मदिरासहित पिकअप र चालक नियन्त्रणमा

By admin

July 23, 2026

झापा । इलामको माईजोगमाई गाउँपालिका-१ नयाँबजार क्षेत्रमा प्रहरीले भारतबाट अवैधरूपमा भन्सार छली गरेर नेपालतर्फ भित्र्याइएका मदिरासहित पिकअप गाडी नियन्त्रणमा लिएको छ।

 

बिहीबार बिहान इलाका प्रहरी कार्यालय नयाँबजारबाट प्रहरी वरिष्ठ हवल्दार लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले फिक्कलबाट नयाँबजारतर्फ जाँदै गरेको बा ७ च २२५१ नम्बरको पिकअप रोकी जाँच गर्ने क्रममा विभिन्न भारतीय ब्रान्डका मदिरा बरामद गरेको हो।

 

प्रहरीका अनुसार पिकअपबाट सिक्किममा उत्पादित हनी बी रम २२ कार्टुन, ओल्ड मन्क रम १ कार्टुन, सिक्किम गोल्डेन मेलन ब्रान्डी १५ कार्टुन र हिट बियर ३३ कार्टुन बरामद गरिएको छ। बरामद मदिराको अनुमानित मूल्य २ लाख ७९ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

 

घटनामा पिकअप चालक इलाम माईजोगमाई गाउँपालिका-१ निवासी २२ वर्षीय लिलाकुमार निरौलालाई पनि नियन्त्रणमा लिइएको छ।