शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा राष्ट्रिय भूमि आयोगमार्फत १८ जना लाभग्राहीलाई बिहीबार जग्गाधनी दर्ता प्रमाण-पुर्जा वितरण गरिएको छ। यसअघि १४४ जनालाई प्रमाण-पुर्जा वितरण गरिसकिएको आयोगले जनाएको छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नागरिकले “धनीपुर्जा कहिले पाउँछौं ?” भन्ने प्रश्न निरन्तर गरिरहेको उल्लेख गर्दै अब वितरण प्रक्रिया नियमितरूपमा अघि बढ्ने बताए। भूमि समस्या समाधानका लागि नगरपालिकाले युद्धस्तरमा काम गरिरहेको जानकारी दिँदै उनले सम्बन्धित शाखा बिहान ७ बजेदेखि सञ्चालन हुने र बिदाका दिनसमेत सेवा दिने व्यवस्था गरिएको बताए।
यस्तै, नगरप्रमुख गोम्देनले अझै छुटेका नागरिकलाई पुनः निवेदन दिने अवसर उपलब्ध गराउन सांसदमार्फत पहल गरिदिन आग्रह गरे। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले झापामै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी अर्जुनधारामा रहेको बताइन्।
उनले जेनजी आन्दोलन अघि धनीपुर्जा वितरणको तयारी अन्तिम अवस्थामा पुर्याए पनि आगजनीका कारण प्रभावित भएको बताइन् । उनले अर्जुनधारामा खोला, बस्ती र पहिले नै धनीपुर्जा जारी भइसकेका जग्गासँग सम्बन्धित जटिल विवाद रहेको उल्लेख गर्दै यस्तो समस्या समाधानका लागि कानुन संशोधन आवश्यक रहेको धारणा राखिन्।
नगरपालिकाका अनुसार अर्जुनधारामा ७ हजार २९२ जनाले निवेदन दिएका छन्। तीमध्ये ६ हजार ३५१ जना अव्यवस्थित बसोबासी, ७२९ जना भूमिहीन सुकुम्बासी र २१२ जना भूमिहीन दलित रहेका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले झुटा विवरण पेश गरेर धनीपुर्जा लिन खोजिएको पाइए उजुरी दिन आग्रह गर्दै अन्यत्र जग्गा भएको प्रमाणित भए कानुनअनुसार कारबाही हुने चेतावनी दिए।
झापा २ की प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले २०२० सालदेखि बसोबास गर्दै आएका नागरिकले समेत अहिलेसम्म धनीपुर्जा नपाएको अवस्था अन्त्य हुने विश्वास व्यक्त गर्दै अब वितरण कार्य निरन्तर अघि बढ्ने बताइन्।